काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।
सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा गरेको थियो।
तर यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन। आफ्नै समूहभित्र सभापतिका आकांक्षी धेरै भएकाले साझा उम्मेदवार घोषणा गर्न पौडेल पक्षलाई सकस परेको छ।
केही दिनयता आपसमा संवाद नभए पनि साझा
उम्मेदवार चयन गर्ने प्रतिबद्धता कायमै रहेको पौडेल पक्षका नेताहरूले बताइरहेका छन्। भदौ १७ गते पौडेल पक्षबाट सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त पत्रकार सम्मेलन गरी १४औं महाधिवेशनमा साझा उम्मेदवार दिने घोषणा गर्नु भएको थियो ।
भदौ १८ देखि कांग्रेसको वडा अविधेशन शुरु भएको छ । वडा अविधेशनअघि नै साझा उम्मेदवार घोषणा गरेर सकारात्मक सन्देश दिने पौडेल पक्षको प्रयास रहे पनि सफल हुन सकेन ।
साझा उम्मेदवार चयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि आफूहरू एक भएको सन्देश दिन पौडेल पक्षका नेताहरूले १७ गते संयुक्त पत्रकार सम्मेलन गरेका थिए। तर त्यो प्रयासले अहिलेसम्म मूर्त रुप लिन सकेको छैन। पौडेल पक्षबाट सभापतिका आकांक्षी चार नेता आफ्नो अडानबाट पछि हटेका छैनन्।
पौडेल पक्षका एक नेताका अनुसार सभापतिमा दोहोरिने चाहना राखेका देउवाविरुद्ध कोइराला परिवारबाट एक तथा पौडेल र सिंहमध्येबाट एक गरी दुई उम्मेदवार हुने सम्भावना छ। देउवाले थप एक कार्यकालका लागि सभापति बन्ने चाहना राखेर तयारी गरिरहनु भएको छ ।
पौडेल समूहबाछ देउवालाई कुनै पनि हालतमा सभापतिमा दोहोरिन दिने पक्षमा छैन। तर महाधिवेशनमा पौडेल खेमाबाट सभापतिमा दुई उम्मेदवार भए देउवालाई चुनाव जित्न सहज हुने देखिन्छ।