काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५२४ पीसीआर परीक्षणमा १,३३२ जना र ४,३२० एन्टिजेन परीक्षणमा ४२८ जना गरी कुल १,७६० जनामा संक्रमण भएको छ ।जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । त्यस्तै १२२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल
संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ भने ७ लाख ४३ हजार ५२६ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ जना रहेका छन् । जसमध्ये २४ हजार ६८३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४०७ जना आईसीयू र १२९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय जना कोरोना संक्रमित थपिएका छन् ।