सरकारको बजेटसम्बन्धी अन्योल र बैंक तथा वित्तीय संस्थाहरुको ब्याज बढ्ने आकलनका कारण सेयर बजार कम्जोर बन्दै गएको छ । उच्च गतिले बढेर अल टाइम हाईको रेकर्ड बनाएको सेयर बजार केही दिन यता भने घट्दो क्रममा छ । बुधबार पनि बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो । बजारमा विक्रेता हावी हुँदा नेप्से परिसूचक ४०.२६ विन्दुले घटेर २८८९.०३ विन्दुमा आएको छ । नेप्से १.३७ प्रतिशतले ओरालो लाग्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशले घटेर ५३८.५ विन्दुमा आएको
छ ।
उच्च विन्दुले बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुकिङ थालेपछि नेप्से घट्न थालेको थियो । त्यसमाथि नेपाल राष्ट्रबैंकबाट सेयर धितो कर्जामा सीमा लगाएपछि त्यसले पनि बजारलाई प्रभावित बनायो । यति बेला लगानीकर्ता कर्जाको ब्याजदर बढ्ने र त्यसले सेयर बजारमा थप नकारात्मक प्रभाव पर्ने विश्लेषणसहित सेलिङ प्रेसर बढाइरहेका छन् । जसले बजारलाई थप घटाउन मद्दत गरेको छ भने खरिद पक्ष कम्जोर बन्दा कारोबार रकम पनि घट्दो क्रममा छ । झन्डै २१ अर्ब हाराहारीमा दैनिक कारोबार रेकर्ड बनाएको बजारमा यति बेला दैनिक कारोबार पाँच अर्ब हाराहारीमा सीमित बनेको छ ।