प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न एमसीसी उपाध्यक्ष सुमारसहितको प्रतिनिधिमण्डल शुक्रबार साँझ बालुवाटार पुगेको हो ।
भेटमा उनीहरूबीच अमेरिकी सहायता परियोजना (एमसीसी) का विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहीबार बिहान नेपाल आइपुगेको एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादीका
अध्यक्ष माधव कुमार नेपालसँऊ भेटवार्ता गरिसकेको छ ।
एमसीसी पास गर्ने विषयमा प्रमुख दलहरूबीच विवाद छ । यसअघि बुधबार नेपाललाई जवाफ पठाउँदै एमसीसीले अमेरिकी सहयोग परियोजना सैन्य प्रयोजनको लागि नभएको बताएको थियो । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पठाएको पत्रको जवाफ पठाउँदै एमसीसीले अनुदान कोषको उपयोग सैन्य प्रयोजनमा गर्न कानुनले रोकेको उल्लेख गर्दै यो विशुद्ध गरिबी न्युनीकरणका लागि दिइने सहयोग रहेको प्रस्ट पारेको थियो ।
नेपालमा पछिल्लो समय एमसीसीको माध्यमबाट नेपालमा अमेरिकी सैनिक आउने प्रचार भइरहेको थियो । यही सम्बन्धमा सरकारले सोधेको प्रश्नको जवाफ एमसीसीले दिएको हो । एमसीसी सम्झौताको विवादका पाटामध्ये एमसीसी परियोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व रहने जनाउँदै एमसीसीको कुनै पनि हक नहुने जवाफ पठाएको छ ।
एमसीसीले निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्न एमसीसी कम्प्याक्टमा सर्तहरू राखेको पनि बताएको छ । नागरिकस्तरबाट उठाइएका प्रश्नहरूसहित नेपाल सरकारले पठाएको पत्रको जवाफ फर्काउँदै एमसीसीले परियोजनामा विनियोजित रकमको दुरुपयोग रोक्न र पाँच वर्षभित्रै काम सिध्याउन सर्तहरू राखेको बताएको हो ।
परियोजना लागू भइसकेका अरू देशमा पनि सर्त र मापदण्डहरू यस्तै रहेको एमसीसीको भनाइ छ । कम्प्याक्टका सर्तहरूको उल्लंघन हुनेगरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्न नपर्ने पनि एमसीसीले जनाएको छ । नेपाललाई गरिबी न्यूनीकरणमा साथ दिनु नै एमसीसी नेपाल कम्प्याक्टको उद्देश्य भएको जवाफ बुधबार एमसीसीले पठाएको थियो ।