ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको निर्देशनमा समय फल्चा पाटी निर्माण गर्ने भन्दै पुल्चोकको सडकपेटी भत्काइएको आरोप लगाइएको छ । सार्वजनिक जग्गामा पाटी बनाउने विषयमा परेको मुद्धा विचाराधीन रहेको अवस्थामा गुण्डागर्दी शैलीमा पुल्चोकमा रहेको श्री लालीगुरास सहकारी संस्थाको भवनमा असर पर्ने गरी भत्काइएको सम्बद्ध पक्षले आरोप लगाएको हो ।
स्थानीय टोल सुधार समितिको नाममा बिहीबार (२४ भदौ) बिहान करिब साढे ४ बजे सरकारी मापदण्डभित्र पर्ने बाटो र फुटपाथमा पाटी बनाउन भन्दै भवनमा
असर पर्नेगरी भत्काइएको हो । सहकारीको मुख्य कार्यालय प्रवेशद्वारमै डोजर चलाएपछि कर्मचारीले विरोध गर्दा कर्मचारीमाथि नै हातपात गरिएको थियो । मेयर महर्जनको निर्देशनमा नगरप्रहरी प्रमुख सीताराम हाछेथुले भवन भत्काउन लगाएका सहकारी संस्थाको भनाइ छ ।
जिल्ला अदालतको आदेशको हवाला दिएर सडक पेटीमा डोजर चलाएपछि केहीबेर विरोध भएको थियो । जिल्ला अदालतले सडक पेटीको मापदण्डलाई असर नपर्ने गरी निर्माण गर्न स्वीकृत दिएको सम्बद्ध पक्षको जिकिर छ । तर, मेयर महर्जनले अदालतको आदेशको अपहेलना गर्दै छापामार शैलीमा सयम फल्चा पाटीको शिलान्यास गरेका थिए ।
अदालतको आदेशविपरीत सडक र फुटपाथलाई असर पर्नेगरी पाटी बनाउन लागेपछि मेयर विरुद्ध महानगरपालिकाका कर्मचारीले भित्री रुपमा आपत्ती जनाएका छन् । महानगरपालिकाका कार्यकारी अधिकृत गणेश अर्यालको उक्साहटमा सडक भत्काउने काम भएका कर्मचारीको आरोप छ ।
मेयर महर्जनले जबर्जस्ती पाटी निर्माण गर्न भन्दै शिलान्यास गरेपछि विरोध शुरु भएको छ । २ सय वर्ष पुरानो पाटी शिलान्यास गर्दा खुसी साटासाट गरेका मेयर महर्जनले ०३८ सालमा आफू वडाअध्यक्ष हँुदा पाटी थियो कि थिएन भन्ने विषयमा हेक्का नराखेका बताइन्छ । उल्टै कानुनको धज्जी उडाएर पाटी शिलान्यास गरेका असन्तुष्ट पक्षको गुनासो छ ।
मेयर महर्जनले करिव २५ हजार सदस्य रहेको संस्थाप्रति इर्ष्या प्रदर्शन गर्दै जबर्जस्ती पाटी शिलान्यास गरेका एक कर्मचारीले आरोप लगाए । अबको स्थानीय निर्वाचनमा आफूले काम देखाउन र राजनीति नारा अघि बढाउन समय फल्चा पाटी बनाउन खोजेका ती कर्मचारीको तर्क छ । श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भएकै ठाउँमा पाटी थियो वा थिएन भन्ने विषय मेयर महर्जनलाई जानकारी नभएको, तर लामो समयदेखि सोही स्थानमा पाटी बनाउँछु भन्दै लागेका मेयरले अब मानहानीको मुद्धा बेहोर्नुपर्ने अवस्था आएको जनाइएको छ ।
मेयर महर्जनले महानगरपालिकाको सिङ्गो कार्यपालिका, राजनीतिक पार्टीहरू र जनताको साथ नलिइकनै एकलौटी रुपमा शिलान्यास गरेका र शिलान्यास गर्दा हतारमा आएका उनले हतारमै पुजा गरेर फर्किएका प्रत्यक्षदर्शी बताउँछन् ।
सर्वोच्च अदालतको हवाला दिएका महर्जनले सर्वोच्चको आदेशमा फुटपाथ र सडकलाई बाधा नपर्ने गरी पाटी बनाउने विषय उल्लेख छ । मेयरका कामप्रति सोही वडाका वडाअध्यक्ष श्रीगोपाल महर्जन नै सहमत छैनन् । उनको एउटा मात्र भनाइ छ- पहिला पाटी कहाँ थियो उत्खनन् गर्नुपर्छ । पाटी छ भने जस्तो छ त्यस्तै बन्नुपर्छ ।
स्थानीय निर्वाचन आउन ८ महिना बाँकी रहँदा जसरी पनि पाटी शिलान्यास गरी फेरि मेयर बन्ने रणनीति उनले बनाएको र केही स्थानीयलाई सडकमा उतारेर द्वन्द्व बढाउँदै कानुनविपरीत शिलान्यास गरेका असन्तुष्ट पक्षको तर्क छ ।
बताइएअनुसार २०६८ साल मंसिर २५ गते बसेको उप-महानगरपालिकाको बोर्ड बैठकले नेपाल सरकारको स्वामित्वमा रहेको सो जग्गामा सडक फुटपाथ समेत देखिएको, सडक विभाग डिभिजन कार्यालयले पाटी निर्माण गर्न दिन नहुने भनी लेखी आएको, काठमाडौ उपत्यका नगर विकास योजना कार्यान्वयन समितिको मापदण्ड ६४ को दफा १३ अनुसार सडक केन्दद्र रेखाबाट ११/११ मिटर स्थायी संरचना निर्माण गर्न नपाइने उल्लेख थियो ।
सो बैठकले कित्ता नम्बर ३२७ सडक सीमाभित्रै रहेको देखिएकोले उक्त कित्तामा कुनै निर्णय गर्न नेपाल सरकार रऐनले तोकेको अन्य प्रचलित कानुनअनुसार सम्बन्धित निकायबाट स्वीकृत लिनुपर्ने कानुनी राय समेत प्राप्त भएको र नेपाल सरकारबाट स्वीकृत प्राप्त भएको समेत नदेखिँदा सो स्थानमा पाटी निर्माण गर्न अनुमति दिन नमिल्ने र समय फल्चा पाटी पुनःनिर्माण समितिको राय मागअनुसार आर्थिक सहयोग समेत दिन नमिल्ने निर्णय गरेको थियो ।
साउन १७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको आदेशविपरीत मेयर महर्जनले अटेर गरेर मूल सडकको आवागमनमा प्रभाव पार्ने गरी समय फल्चा र्निर्माणको काम अघि बढाएका हुन् । सो आदेशमा मुल सडक र पैदलमार्ग यथावत कायम रहने गरी अर्थात् सडक मापदण्डविपरीत नहुनेगरी निर्माण गर्न मिल्ने उल्लेख थियो । तर सो पाटी मुल सडकको ११ मिटरभित्र पर्छ । जहाँ अहिले बटुवा हिँड्ने गरेका छन् ।
अदालतले त मुल सडक पेटीलाई असर नपर्ने गरी पाटी निर्माण गर्न आदेश दिएको थियो । सो आदेशलाई बङ्ग्याएर मेयर महर्जनले पाटी शिलान्यास गरेका हुन् । यसअघि जिल्ला प्रशासन कार्यालय, सडक विभाग र नापी कार्यालयले सडक मापदण्डभित्र पर्ने सो स्थानमा पाटी बनाउन नहुने पत्र महानगरपालिकालाई पठाएको थियो । महानगरले पाटी निर्माण गर्न ३० लाख रुपियाँ विनीयोजन गरिसकेको छ । गत आबको बजेट कार्यान्वयन नहुने देखेपछि मेयर महर्जनले स्थानीयलाई देखाएर नियमविपरीत पाटी बनाउन खोजेका हुन् ।
सडक डिभिजन ललितपुरले ‘पार्टी समय फाल्चा सडकको केन्द्रबिन्दुबाट ११/११ मिटरभित्रको सरकारी जग्गाभित्र पर्ने भएकाले सो स्थानमा पाटी बनाउन नमिल्ने उल्लेख छ । सडक डिभिजनले निर्णय अवज्ञा गरे सार्वजनिक सडक ऐन, २०३१ अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ । तर मेयर महर्जनले दलबलसहित बिहीबार पाटी शिलान्यास गरेका छन् ।
‘मेयर महर्जनले सर्वोच्चको आदेशलाई अपब्याख्या गर्दै संस्थाको सम्पतिमा नोक्सान हुनेगरी डोजर चलाएका छन्’- श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको भनाइ छ । उनले उच्च अदालतमा विचाराधीन मुद्धा किनारा नलाग्दै पाटी शिलान्यास गर्नु गलत भएको आरोप लगाउँदै भने- ‘मेयरको यो कार्यले कानुनको धज्जी उडाएको छ । यसविरुद्धमा कानुनी उपचारमा जानेछौँ ।’