बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • म्याग्दीमा विद्युतगृह बाढिले बगायो
भर्खरै

म्याग्दीमा विद्युतगृह बाढिले बगायो

  • सिधा दृष्टी सोमवार, भदौ २१, २०७८ | September 6, 2021

म्‍याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले

विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पुर्‍याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पुर्‍याएको छ ।

लघु जलविद्युत्को विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिए ।

‘यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ’, प्रअ ठाकुरले भने । बाढीले लघु जलविद्युत्मा पुर्‍याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ ।

विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि रु एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरिएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले रु ८५ लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय