काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइ सरेको छ।
प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमाथि सुनुवाइका लागि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा पेसी तोकिएको थियो। तर, आइतबार हेर्न नभ्याइनेमा परेपछि सुनुवाइ सरेको हो। घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने सरकारको निर्णयविरुद्ध शाक्यले भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
शाक्यको रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाकै भदौ ८ गतेको इजलासले मिसिल झिकाउने आदेश जारी गरेको थियो।
रिटमा शाक्यले कुलमानलाई प्राधिकरणको कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश मागदाबी गरेका थिए। सरकारले आफ्नो स्थानमा कुलमानलाई नियुक्त गर्नु गैरकानुनी भएको उनको जिकिर छ।