प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दाबी गरेका छन् । धरान-८ स्थित औद्योगिक क्षेत्रमा रु ३७ करोडको लगानीमा सुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा शनिबार उनले यस्तो दाबी गरेका हुन् ।
‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भए पनि म विश्वासको मत लिन्छु, यो सरकार सत्तालिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकाले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो’- उनको भनाइ छ ।
class="don">
उनले प्रदेश नं १ को सरकार टिकाउन दलहरूबीच कुराकानी भइरहेकोसमेत जानकारी दिए । राजनीतिमा जे पनि हुन्छ भन्दै उनले नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरूसँग छलफल भइरहेको खुलासा गरे ।
मुख्यमन्त्री आचार्यले विकास निर्माणको काममा तीव्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति-सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताए । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफूसँग विकासको योजना रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री भएपछि पहिलोपटक निर्वाचन क्षेत्रमा पुगेका मुख्यमन्त्री आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसायलाई प्रोत्साहान गर्नु प्रदेश सरकारको पहिलो प्राथमिकता भएकाले आफू धरान आएको जिकिर गरे ।