काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिने भएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएकोमा अब एक सातामा फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिन लागिएको हो ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले आइतबारबाट बन्चरेडाँडामा फोहोर फाल्न मिल्ने गरी तयारी थालिएको बताए ।
सिसडोलदेखि २ किलोमिटर दूरीमा निर्माणाधीन बन्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्न लागिएको घिमिरेको भनाई छ ।
मन्त्रालयले आइतबारदेखि बन्चरेडाँडामा फोहोर फाल्ने तयारी थाले पनि त्यसको भौतिक पूर्वाधारको काम अझै सकिएको छैन । मन्त्रालयले तयारी
थालेको बताए पनि काठमाडौं महानगर वातावरण विभागका हरिकुमार श्रेष्ठले बन्चरेडाँडामा फोहोर फालिने विषयमा जानकारी नरहेको बताउनुभयो ।
फोहोर फाल्न दिइएको खण्डमा महानगरले फोहोर संकलन गरेर बन्चरेमा विसर्जन गर्ने पनि उहाँको भनाई छ । बन्चरेडाँडा धादिङ र नुवाकोटको सिमा क्षेत्रमा अवस्थित छ ।