लामोसमय देखि बन्द रहेको वारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा आइतबारदेखि संचालन हुने भएको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरसको दोस्रो लहरका कारण बैशाख १५ देखि स्थगित परीक्षा भदौ २० गतेदेखि संचालनमा आउन लागेको हो । परीक्षा संचालनको लागि यातायात व्यवस्था विभागले १० भदौमा स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरिसकेको छ ।
अहिले प्रयोगात्मक परीक्षाको लागि आवेदन दिइ बायोमेट्रिक गरी लिखित परीक्षामा संलग्न हुने परीक्षार्थीहरूको परीक्षा लिइने यातायात व्यवस्था कार्यालयले जनाएको छ । यस्तै प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी, वर्ग थपका लागि राजश्व बुझाइसकेकाहरूको पनि परीक्षा लिने कार्यालयले
जनाएको छ ।
नयाँ स्वास्थ्य मापदण्ड
चार महिनापछि संचालनमा आउन लागेको परीक्षाको लागि यातायात व्यवस्था विभागले नयाँ मापदण्ड पनि बनाएको छ ।
मापदण्ड अनुसार लिखित परीक्षामा एक सिफ्टमा बढीमा सय जनालाई सहभागी गराउने र एउटा कोठामा बढीमा २५ जना राख्ने व्यवस्था गरिएको छ । यस्तै ट्रायल पनि एक सिफ्टमा बढीमा ५० जनालाई मात्र सहभागी गराउने मापदण्ड तयार गरिएको छ ।
मापदण्ड अनुसार कार्यालयले खुला ठाउँ भएको विद्यालय वा अन्य भवन खोजी लिखित परीक्षा संचालन गर्नुपर्ने छ । त्यस्तै प्रयोगात्मक परीक्षाको लागि यातायात कार्यालयहरुले २४ घण्टा अगाडि परीक्षाको विवरण तोक्नुपर्ने मापदण्डमा उल्लेख छ ।
परीक्षा दिन आउनेका लागि मास्क र स्यानिटाइजर पनि अनिवार्य गरिएको छ । परीक्षासँगै नयाँ आवेदकका लागि अनलाइन फारम पनि खुलाइने विभागले जनाएको छ ।
अंकको आधारमा पास/फेल
अब लिइने प्रयोगात्मक परिक्षा पहिले भन्दा केही सहज हुनेछ । यसअघि सानो गल्तीमा पनि ट्रायल फेल हुने नियम भएपनि अब विभिन्न चरण अनुसार ७० अंक ल्याए लाइसेन्स पाउन सकिन्छ ।
तर, यसअघि ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने ८० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सवारीचालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ अनुसार के, ए र बी वर्गका सवारीमा मात्र यो नियम लागु हुनेछ ।