निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ । आयोगको बुधबारको बैठकले माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई दलको मान्यता प्रदान गर्दै प्रमाणपत्र दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगका सचिव सुरेश अधिकारीले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता केशव झालाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन् । नेकपा (एमाले)बाट विद्रोह गरी अलग राजनीतिक दलका लागि ५६ केन्द्रीय सदस्य र ३० सांसदले आयोगमा सशरीर
उपस्थित भइ नयाँ दलका पक्षमा सनाखत गरेका हुन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेश गरेकामा भास्कर काफ्ले र रवीन कोइराला बुधबार सनाखत हुन सकेन भने पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका छन् ।
यस्तै, पुराना राजनीतिज्ञ महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।