पोखरास्थित महेन्द्रपुल सेलवेज गेटको पारी, गरिमा विकास बैंक अगाडिको सडक भासिएर भ्वाङ परेको छ । साँझदेखि निरन्तर परिहेको पानीको कारणले सडक भासिएको हो।
नालाको मुख, पालिखे चोक हुँदै यता नदीपुरबाट पानी पर्दा खोलाजस्तै भेल महेन्द्रपुलमै आइपुग्छ ।पानी परेको बेला त्यो भलले सडकसमेत भत्काउने गरेको छ । आइतबार साँझ महेन्द्रपुलको सडक भासिदा संचारकर्मी सञ्जय मल्ल त्यहीं थिए। शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको उनले बताए।राति भ्वाङ नै परेपछि महेन्द्रपुल क्षेत्रका मानिस त्रसित बनेका छन् ।
सडक भासिएपछि मल्लले पोखरा महानगर
र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पानीको भल त्यही भ्वाङबाट छिर्दा जोखिम बढेको छ । सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले आइतबार राती नै भासिएको खाडल पुरेको छ।