काठमाडौँ । आफगानिस्तानबाट अहिलेसम्म २९६ नेपाली काठमाडौँ आइपुगेका छन् ।
अफगानिस्तान तालिबान समूहले नियन्त्रणमा लिएपछि त्यहाँ रहेकामध्ये २ ९६ जना नेपाली स्वदेश आइपुगेका हुन् । मङ्गलवार बिहान ११८ जना, त्यही दिन राति ८४ जना, बुधवार बिहान ६५ जना र दिउँसो २५ जना तथा बिहीबार थप आठ जना गरी २९६ जना काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै बिहीबार जजिरा एअरको कुवेत–काठमाडौँ नियमित उडानबाट आठ जना नेपाली काठमाडौँ आइपुगेको जानकारी दिएको छ ।मन्त्रालयले अफगानिस्तानबाट नेपाली फर्काउने काम
भइरहेको भन्दै आफ्नो विवरण मन्त्रालयको वेबसाइटमा दर्ता गराउन आग्रह गरेको छ ।
कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझ पाँच बजेसम्म तीन सय जना नेपालीले आफ्नो विवरण दर्ता गराएका विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।