नेपाली काङ्ग्रेसका दिवंगत नेता सुवासचन्द्र गिरीको शालिकलाई एक कार्यक्रमका बीच बुधबार अनावरण गरिएको छ। काङ्ग्रेस पश्चिम नवलपरासीको तत्कालीन उपसभापति स्व. सुवासचन्द्र गिरीको सम्झनामा तयार पारिएको अद्र्धकदको शालिकलाई अनावरण गरिएको हो ।
स्व. गिरीको प्रथम पुण्य स्मृतिमा रामग्राम नगरपालिका वडा नं. ८ सुवासचन्द्र गिरी चोक लोहसडामा निर्मित शालिकको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले अनावरण गरेका हुन् । सो अवसरमा नेता कँडेलले स्व. गिरी अत्यन्त मिलनसार, नम्र र शिष्ट भाषाको प्रयोगकर्ता अनि सधैं कामका लागि तत्पर रहने व्यक्तित्व रहनुभएको र उहाँलाई
गुमाउन पर्दा सिङ्गो पार्टी नै मर्माहत भएको धारणा राखे ।
नेता कँडेलले नेता कार्यकर्ताहरु पार्टी… पार्टी भनेर जति चिच्याए पनि समाज विकासको लागि केही गर्न सकिएन भने त्यो उपलब्धिमुलक नरहने हुँदा समाज सुधारको लागि सबैमा अग्रसर रहन आग्रह गरे ।
रामग्राम नगरपालिका वडा नं. ८ का अध्यक्ष महेन्द्रप्रसाद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेल, जसपा नेता मुकुर्जी गिरी, नेता धरेन्द्र यादव, स्वतन्त्र राजनितिक समुहका जिल्ला संयोजक राधेरमण पाण्डे, नेपाली काङ्ग्रेसका उपसभापति अनिल गौड, रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुँवर, समाजसेवी शम्भु उपाध्याय लगायतले समवेदना मन्तव्य व्यक्त गरेका थिए ।
दिवंगत गिरीको शालिक २०७८ साल जेठ २८ गते वडा अध्यक्ष ठाकुरबाट शिलान्यास भइ पुनर्निर्माणपश्चात् बुधबार उद्घाटन गरिएको हो । शालिक निर्माणका लागि सांसद विकास कोषबाट प्रतिनिधिसभा सदस्य कँडेलले १० लाख रकम विनियोजन गरेका थिए । गिरीको गत वर्ष उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।