काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । लामो समयदेखि मुटुको समस्या झेल्दै आएका ६२ वर्षीय कोइरालाको हृदयाघातका कारण आज दिँउसो १ बजे ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएका हो ।
उनलाई दुई हप्तापहिले हृदयाघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो ।
विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मेका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालक समेत थिए ।
हाल काठमाडौँको धापासीमा बस्दै
आएका स्व कोइरालाका श्रीमती, दुई छोरा र एक नाति छन् । उनका दुवै छोरा पनि चिकित्सक हुन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ ।