मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दल विभाजनको प्रयासविरुद्ध दृढताका साथ उभिन एमाले अध्यक्ष ओलीको अपिल
भर्खरै

दल विभाजनको प्रयासविरुद्ध दृढताका साथ उभिन एमाले अध्यक्ष ओलीको अपिल

  • सिधा दृष्टी मङ्लबार, भदौ १, २०७८ | August 17, 2021

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार अचानक संसद् अधिवेशन अन्त्य गरिएलगत्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्ने षडयन्त्र भएको भन्दै पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अध्यक्ष ओलीले अपिल गरेका हुन् ।

‘एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन

सक्तैन’, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई एकताबद्ध राख्न हरसम्भव कोसिस गरिएको उल्लेख गर्दै उनले त्यो सम्भव नभएपछि एमालेलाई नेकपाको विरासतसहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित भएको उल्लेख गरेका छन् । एमालेलाई एकीकृत गर्ने क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको र उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ओलीले क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्तापक्षबाट प्रतिपक्षमा परिवर्तित भएको उल्लेख गर्दै यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न नेता, कार्यकर्तालाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिलसमेत गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘सयौँ शहिदको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य सङ्घर्ष, लाखौँ सदस्यको मेहनत तथा जनसङ्ख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैँमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ, पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ ।’

आफूले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, समभावमा विश्वास गर्दै सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनुपर्दछ भन्ने मानेको खुलासा गर्दै उनले भनेका छन्, ‘पार्टीलाई अनुशासित, एकताबद्ध एवं गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चि गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यलाई आह्वान गर्दछु, पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटीलगायत आफूसम्वद्ध कमिटीका बैठकमा सरिक हुन र आ-आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय