शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल भारत संयुक्त निगरानी संयन्त्रको नवौँ बैठकमा भारतीय सहयोगका परियोजनाबारे छलफल
भर्खरै

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको नवौँ बैठकमा भारतीय सहयोगका परियोजनाबारे छलफल

  • सिधा दृष्टी सोमवार, साउन ३२, २०७८ | August 16, 2021

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको सोमबार बसेको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ ।

बैठकमा आयोजनाको प्रगति तथा देखिएका समस्या समाधानका लागि चाल्नुपर्ने उपाय तथा आवश्यकताका आधारमा थप सहकार्य गरेर परियोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा हाल निर्माणका क्रममा रहेका तराईका सडक, अन्तरदेशीय रेल परियोजना, अरुण तेस्रो

जलविद्युत् आयोजना, पेट्रोलियम पाइप लाइन, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, भूकम्पपछिको पुनः निर्माण, सिँचाइ परियोजना, ऊर्जा तथा प्रसारण लाइन, नेपाल प्रहरी एकेडेमी, एकीकृत जाँचौकी, रामायण सर्किट र महाकाली नदीको पुल, कृषि तथा सांस्कृतिक सम्पदालगायत विषयमा छलफल भएको जनाइएको छ ।

बताइएअनुसार बैठकमा विशेषगरी गोरखा र नुवाकोट जिल्लामा हाल निर्माणाधीन अवस्थामा रहेको तर छिट्टै निर्माण सम्पन्न हुन लागेका आवासको पुनर्निर्माण कार्यमा भइराखेको प्रगति, नेपालका तराई क्षेत्रमा निर्माण सम्पन्न भएका १३ वटा सडकहरू, भारत सरकारको सहुलियतपूर्ण ऋणअन्तर्गत सञ्चालित सडक र प्रसारण लाइन परियोजनाहरू र अरुण तेस्रो परियोजनामा भइराखेको सन्तोषजनक प्रगति र नेपालगञ्जमा सुरु गरिएको एकीकृत जाँच चौकीको निर्माण बारे चर्चा गरिएको थियो । परियोजनासँग सम्बन्धित विविध समस्याको निराकरण गर्न र परियोजना कार्यान्वयनलाई सहयोग पुऱ्याउन दुवै पक्षले नियमित समन्वयमार्फत ओभरसाइट मेकानिज्मका निर्णयहरूमा अनुगमन गर्ने कुरामा सहमत भएका थिए । यसअलावा भारतले नेपाललाई उपलब्ध गराएको औषधी, चिकित्सकीय उपकरण, बेड, आइसियु, भेन्टिलेटर र खोपलगायतका कोभिड-१९ सँग सम्बन्धित सहकार्यकोे दुवै पक्षले सराहना गरेका थिए ।

भारत सरकारले २०७२ सालको भूकम्पबाट प्रभावित गोरखा र नुवाकोटमा ४६ हजार घर निर्माणमा सहयोग गरेको छ । यस्तै भारतीय सरकारी कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस्तै अन्तरदेशीय प्रसारण लाइन तथा अन्य आयोजनामा समेत सहयोग गरेको छ ।

बैठकमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको अनुगमन, समीक्षा तथा केही समस्या भए त्यसलाई समाधान गर्ने विषयमा सहमति भएको बताइएको छ । परियोजनाका भइरहेको कामको प्रगति, समस्याको पहिचान र समाधानका लागि आवश्यक पहलका सन्दर्भमा बैठकमा विशेष कुराकानी भएको छ ।

ज्ञातव्य छ, सन् २०१६ मा भारतीय सहयोगका परियोजनाको प्रगतिबारे निगरानी गर्न उक्त संयन्त्र स्थपना भएको हो । संयन्त्रले आयोजनामा देखिएको समस्या निरुपणका लागि समयमै आवश्यक कदम चाल्ने गरेको छ ।

संयन्त्रको दशौँ बैठक आपसी सहमतिमा तय गरिने विज्ञप्तिमा जनाइएको छ । यसअघि २०७६ साल असार २३ मा संयन्त्रको सातौँ बैठक बसेको थियो । आठौँ बैठक २०७७ साल भदौ १ गते आयोजना गरिएको थियो । ठीक एक वर्षपछि उक्त संयन्त्रको बैठक पुनः आज (सोमबार) सम्पन्न भएको हो ।

आजको बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले र भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । साथमा नेपाल सरकार परराष्ट्र मन्त्रालयका अधिकारीका साथ अन्य मन्त्रालयका सम्बद्ध पदाधिकारी र भारतीय दूतावासाका विभिन्न पदाधिकारीको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय