काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक महिना पूरा भएको छ । तर एक महिनासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले असार २९ गते देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले नियुक्त भएकै दिन कांग्रेसका दुई र माओवादी केन्द्रका दुई गरी चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।
साउन १० गते देउवाले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । बाँकी मन्त्रालय
प्रधानमन्त्री देउवाले आफैसँग राख्नुभएको छ ।
यस बीचमा मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता गठबन्धनका शीर्ष नेताबीच दौडधूप चलेपनि सार्थकता पाउन नसक्दा नयाँ सरकारले गति लिन सकेको छैन ।
पहिले एमालेको माधव नेपाल–खलनाथ खनाल समूहको निर्णयपछि मात्रै सरकारलाई पूर्णता दिने बताइएको थियो ।
पछि सरकारको साझा न्यूनतम कार्यक्रमपछि मन्त्रिपरिषद् विस्तार गर्ने नेताहरुले बताएका थिए । तर साझा कार्यक्रम सार्वजनिक भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।
कांग्रेसको १४औं महाधिवेशनको मितिबारे पार्टीमा आन्तरिक विवाद चुलिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई गति दिन नसक्नुभएको हो । देउवाले पार्टीको महाधिवेशनको मिति विवाद समाधान पछि मात्रै सरकार विस्तार गर्ने रणनीति बनाउनुभएको छ ।
अबको एक दुई दिनभित्रै सबै विवाद समाधान हुने र मन्त्रिपरिषद्ले पूर्णता पाउने कांग्रेस नेताहरुले दाबी गरेका छन् । सरकारले पूर्णता नपाउँदा जनआकांक्षा अनुसार काम हुन नसकेको भन्दै सरकारको आलोचना शुरु भएको छ ।