सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • शेखर, रिजाल र थापासंग प्रधानमन्त्री देउवाले गरे छलफल
भर्खरै

शेखर, रिजाल र थापासंग प्रधानमन्त्री देउवाले गरे छलफल

  • सिधा दृष्टी बुधबार, साउन २७, २०७८ | August 11, 2021

काठमाडौं । निर्धारित मितिमा महाधिवेशन नहुने निश्चित भएपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ कार्यतालिकाबारे संस्थापनइतर समूहका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेका छन् ।

भदौ १६–१९ मै महाधिवेशन हुनुपर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वप्रति बढी आक्रामक देखिएपछि सभापति देउवाले संस्थापनइतर समूहका प्रभावशाली नेताहरुसँग छलफल गरेका हुन् ।मंगलबार प्रधानमन्त्री देउवाले संस्थापनइतर समूहका नेताहरु डा। शेखर कोइराला, डा। मिनेन्द्र रिजाल र गगनकुमार थापासँग बालुवाटारमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गरेका हुन् । बालुवाटार स्रोतका अनुसार देउवाले निर्धारित मितिमा महाधिवेशन

सम्भव नभएकाले नयाँ कार्यतालिकाबारे नेताहरुसँग सल्लाह गरेका थिए ।

छलफलमा केन्द्रीय सदस्य रिजालले पार्टीमा समझदारी जुटाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउन देउवालाई आग्रह गरेका थिए । ‘केन्द्रीय समिति बैठकअघि नै समझदारीमै कार्यतालिका ल्याउँदा राम्रो हुन्छ,’ नेता रिजालको प्रस्ताव थियो, ‘नत्र केन्द्रीय समितिमा अनावश्यक विवाद हुन्छ । त्यसले राम्रो सन्देश दिंदैन ।’

देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिकामा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री देउवाले सहमतिमै कार्यतालिका ल्याउने जवाफ दिएका थिए । ‘म पनि सहमतिमै कार्यतालिका ल्याउने पक्षमा छु,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘महाधिवेशनबारे पार्टीमा समझदारी होस् भन्ने चाहन्छु । यसका लागि तपाईंहरुले सकारात्मक भूमिका खेलिदिनुस् ।’

देउवाले सरकार सञ्चालनका बारेमा आवश्यक सुझाव दिन पनि नेताहरुलाई आग्रह गरेका थिए ।

कांग्रेसमा केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने गरी छलफल भइरहेको छ । पौडेल समूहकै महामन्त्री डा। शशांक कोइराला पनि भदौमा महाधिवेशन सम्भव नभएकाले मंसिरमा गर्ने कार्यतालिका ल्याउन सकारात्मक छन् । तर वरिष्ठ नेता पौडेल भने प्रक्रिया छोट्याएर भएपनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा छन् ।

काठमाडौंमा दुई दिन चलेको पौडेल पक्षीय जिल्ला सभापतिहरुको भेलामा पनि भदौमै महाधिवेशन गर्नुपर्नेमा अधिकांशको जोड थियो । पार्टी वैधानिकता जोगाउन विशेष महाधिवेशन भएपनि निर्धारित मितिमै हुनुपर्नेमा अधिकांश जिल्ला सभापतिको जोड रहेको नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय