काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो ।
महामन्त्री डा। शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन हुनुपर्ने निर्णय गरेको नेता गुरु घिमिरेले बताए । तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने आजको बैठकको निर्णय हो,’ उनले भने, ‘प्रक्रिया छोट्याएर भएपनि महाधिवेशन हुनुपर्छ ।’पौडेल समूहले क्रियाशील सदस्यता
टुंगो लगाएपछि मात्रै महाधिवेशन कार्यतालिका ल्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले साउन २८ गते केन्द्रीय समिति बैठक बोलाएका छन् । महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पौडेल समूहले केन्द्रीय समिति बैठक अघि नै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने जनाएको छ ।
त्यस्तै पार्टी वैधानिकता जोगाउन वरिष्ठ नेता पौडेलले विशेष महाधिवेशनको प्रस्ताव अगाडि सारेका थिए । तर उनी पक्षीय नेताहरुले भने विशेष महाधिवेशन नभई नियमित महाधिवेशनकै पक्षमा जोड दिएका हुन् ।
पौडेल पक्षीय जिल्ला सभापति बैठकमा भने विशेष महाधिवेशनमा जोड दिइएको छ । जिल्ला सभापति बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।