बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • दैलेखका सात वर्षीय सुवास बने नयाँ ‘देउकेटा’
भर्खरै

दैलेखका सात वर्षीय सुवास बने नयाँ ‘देउकेटा’

  • सिधा दृष्टी सोमवार, साउन २५, २०७८ | August 9, 2021

सुदूरपश्चिममा देउकी र काठमाडौँ उपत्यकामा जीवित देवी कुमारीको चर्चा भइरहन्छ । त्यहाँ मन्दिरमा पुजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार ।

कर्णाली राजमार्गमा पर्ने दैलेखको तल्लो डुङ्गेश्वरस्थित पञ्चेश्वर शिव महादेव मन्दिरमा पुर्खौँदेखि नाबालकले पूजापाठ गर्ने प्रचलन रहेको छ । हाल यस मन्दिरमा सात वर्षीय सुवासदेव गिरी पुजारी (देउकेटा) छन् । सुवास गतवर्ष मङ्सिरदेखि पुजारी नियुक्त भएका हुन् ।

त्यसअघि उनका साहिँला दाजु जीवनदेव पुजारी थिए । जीवनदेवको उमेर १६ वर्ष पुगेपछि उत्तराधिकारीको रूपमा पुजारीमा सुवास मन्दिर प्रवेश

गरेका हुन् । सुवासले मन्दिरमा दैनिक पूजापाठ गर्ने, दर्शनार्थीलाई टीका र आशीर्वाद दिँदै आएको बताए । 'पूजापाठका सबै काम सिक्दै छु, बुबा दाइले सिकाउनुहुन्छ,' उनले भने ।

शिव महादेव मन्दिरमा कुमार केटालाई मन्दिरमा चढाएर मात्र पुजारीको मान्यता दिने चलन छ । जसलाई स्थानीय भाषामा ‘देउकेटा’ अर्थात् ‘देउतालाई चढाएको केटा’ भनिन्छ । देउतालाई चढाएको केटाले पूजापाठ मात्र होइन, मन्दिरमै बास बस्छन् । पूर्व ‘देउकेटा’ जीवनदेवले वर्षौंदेखि चलिआएको संस्कार भएकाले आफूहरूले निरन्तरता दिँदै आएको बताए । 'आफैँले पकाएको खानुपर्छ, अरुजस्तो मनलागी हिँडडुल गर्न पाइँदैन,' उनले भने, 'स्कुलमा गएर पनि अलग्गै बस्नुपर्छ, महिनावारी भएकालाई छुन हुँदैन ।'

सुवास हाल महादेव माविमा कक्षा ३ मा अध्ययनरत हुन् । उनी सानै भएकाले पूजापाठमा जीवनदेवले सघाउने गरेका छन् । जीवनदेव २०६८ जेठदेखि गत वर्ष मङ्सिरसम्म ‘देउकेटा’ का रूपमा मन्दिरमा बसेका थिए । मन्दिर दुल्लु नगरपालिका–१, तल्लो डुङ्गेश्वर बजार छेवैमा छ । जुन कर्णाली नदी र लोहोरे खोलाको सङ्गमस्थल हो । यहाँ दैलेख, अछाम, सुर्खेतका साथै राजमार्गहुँदै आउजाउ गर्ने मन्दिर प्रवेश गरेर ‘देउकेटा’ बाट टीका थाप्नुका साथै आशीर्वाद लिई गन्तव्यतर्फ लाग्दछन् ।

मङ्गलबार र शनिबार श्रद्धालु भक्तजनको बढी भिड लाग्दछ । खड्गदेवका छोरा प्रेमदेव, चन्द्रदेव र जीवनदेवपछि सुवासदेव ‘देउकेटा’ का रूपमा भित्रिएका हुन् । खड्गदेव पनि ११ वर्ष देउकेटा थिए । पूजापाठबाट सङ्कलित दान दक्षिणाबाटै परिवारको खर्च धानेको खड्गदेवले सुनाए । उनले भने, 'पूजापाठबाटै सात जनाको परिवार पाल्नुपर्ने बाध्यता छ, जग्गाजमिन छैन, गुठीको आम्दानीबाटै गुजारा चलाउनुपर्छ ।'

खड्गदेवका अनुसार ‘देउकेटा’ ले १६ वर्ष पार नगरुञ्जेलसम्म पुजारी बन्नुपर्छ । त्यसअघि नै बिहे भयो भने पनि मन्दिरबाट बाहिरिनुपर्छ । यदि पुजारीमा कुनै समस्या आइपरेमा सन्तानको रोल क्रमअनुसार नियुक्त गर्ने चलन छ । त्यसरी नियुक्त ‘देउकेटा’ लाई विधिपूर्वक व्रतबन्ध गरी भित्र्याइन्छ । विवाहितालाई ‘देउकेटा’ बनाए अनिष्ट हुने विश्वास छ ।

प्रसिद्ध पञ्चकोशी तीर्थस्थलमध्ये शिव मन्दिरमा गिरी, शिरस्थानमा नाथ, कोटिलामा योगी, धुलेश्वरमा सन्न्यासीले पूजाआजा गर्ने संस्कार छ । नाबालकले पूजा गर्ने यही मन्दिर मात्र हो । यहाँका अन्य मन्दिरमा यस्तो चलन छैन । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय