काठमाडौं । पटकपटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फी दबाब बढिरहेको छ ।
पछिल्लोपटकको कार्यतालिकाअनुसार साउन १२ बाट वडा अधिवेशन शुरू भई भदौ १६–१९ गतेसम्पन्न हुने भनिएको १४औं महधिवेशन पनि अनिश्चित बनेपछि पार्टीभित्र सभापति देउवाको चौतर्फी आलोचना भइरहेको छ । फेरि पनि सभापति बन्ने रणनीतिमा लागेका देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिन भन्दै ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ समेत शुरू भएको छ ।
खास गरी संस्थापन इतर पक्षका केन्द्रदेखि जिल्लासम्मका नेताहरूले अहिले सभापति देउवासमक्ष समयसीमाभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने एउटै माग राखिरहेका छन् । महाधिवेशनको सुनिश्चितता गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताको दैनिक छलफल र बैठक चलिरहेका बेला ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ भन्दै विभिन्न जिल्ला र क्षेत्रको प्रतिनिधित्व गर्ने युवा नेताहरूले पनि दबाब सिर्जना गर्न थालेका हुन् । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।