इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्बन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेवारी लिएका हुन् ।
सन् १९६० मा इरानको मशहदमा जन्मिएका इब्राहिम रायसी कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा रायसीले एक करोड ७८ लाख मत प्राप्त गरेका थिए ।
धेरै राजनैतिक अन्य प्रभावशाली नेतालाई निर्वाचन लड्न रोक लगाइएको र आधाभन्दा बढी मतदाता महामारी र असन्तुष्टिका कारण मतदानमा सहभागिता नजनाउदा नजनाउँदै भएको निर्वाचनबाट
उनलाई विजयी भएको घोषणा गरिएको एएफपीले जनाएको छ ।
इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र ६ विश्वशक्ति राष्ट्रबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी तत्कालिन राष्ट्रपति हसन रौहानीलाई उनले विस्थापित गरेका छन् । रौहानीले दुई कार्यकाल राष्ट्रपति भएर देशको नेतृत्व गरेका थिए ।
इस्लामिक गणतन्त्र इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अति विश्वास पात्रसमेत मानिने रायसीको चारवर्षे कार्यकाल बिहीबारदेखि शुरु भएको छ ।
इरानको न्यायपालिकाका पूर्वप्रमुखसमेत रहेका रायसीलाई मानवअधिकार उल्लङ्लन गरेको आरोपमा पश्चिमी मुलुकले चर्को आलोचना गर्ने गरेका छन् ।
निर्वाचित भएपछि रायसीले आफ्नो प्रमुख विदेश नीति क्षेत्रीय देशसँगको सम्बन्ध सुधार गर्ने रहेको बताएका छन् । रायसी सन् १९६० मा इरानको मशहदमा जन्मिएका हुन् ।