कोभिड-१९ का कारण सम्पूर्ण व्यवसायीहरू मारमा परेको तर आर्थिक विकासका विविध क्रियाकलापमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका व्यवसायीहरूको लागि खोप उपलब्ध नभएर जीवन नै जोखिममा रहेको भन्दै ललितपुर चेम्बर अफ कमर्सले खोप उपलब्धताको माग गरेको छ ।
ललितपुर चेम्बरका कार्यवाहक अध्यक्ष निरु थापाले जिल्लाभरका व्यवसायीका लागि तत्काल खोप उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग लिखित आग्रह गरेकी हुन् ।
खोपको माग गर्दै स्वास्थ्य राज्यमन्त्रीलाई सम्बोधन गरी का.वा. अध्यक्ष थापाद्वारा लेखिएको पत्रमा भनिएको छ- ‘नेपाल चेम्बर अफ कमर्ससँग सम्बन्धन
रहेको ललितपुर चेम्बर अफ कमर्सले ललितपुर जिल्लाको आर्थिक विकास, विकास निर्माण, ललितपुर जिल्ला बनाउन आवश्यक पूर्वाधार, कानून मस्यौदा, विभिन्न कर महशुल निर्धारण लगायत विविध विधामा स्थानीय सरकारलाई राय सुझाव उपलब्ध गराउँदै आएको छ । साथै यस संघले सामाजिक र आर्थिक विकाससम्बन्धी कृयाकलापमा साझेदारी, प्रकोप व्यवस्थापन र राहतसम्बन्धी कार्यमा निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भएको हैसियतले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’
मिागपत्रमा अगाडि भनिएको छ- ‘यस क्षेत्रका व्यवसायीहरूको छाता संगठनको हिसाबले सम्पूर्ण व्यवसायी र व्यवसायको रक्षा गर्दै अगाडि बढ्नु यस चेम्बरको दायित्व हो । कोभिड–१९का कारण सम्पूर्ण व्यवसायी मारमा परेको अवस्थामा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै यस चेम्बरले व्यवसायीको मनोबल उच्च बनाइराखेको छ । तर, देशका अन्य अंगहरुले खोप पाएको महिना दिन बढी बित्दा पनि हामी व्यवसायीले नपाएको अवस्था छ । तसर्थ, यस क्षेत्रका व्यवसायीहरुको जीवनरक्षाको निम्ति ललितपुर चेम्बर अफ कमर्सको अगुवाइमा खोप उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ ।’