काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।
प्रचण्ड र नेपाल दुवैको सचिवालयले मंगलबार बिहान भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् । यद्यपि कोटेश्वरस्थित माधव नेपालको निवास नजिककै एक घरमा उनीहरुबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले भन्यो
।सत्ता साझेदार दलहरुले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको बेला प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।