दमौली।पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी र वरिष्ठ कलाकार विजय लामा राहत सामाग्री लिएर बुधबार बिपन्नको घरदैलोमा पुगेका छन् ।
र भिमाद नगरपालिकाको रघु गाउँमा बसोबास गर्ने विपन्न परिवार भेटेर भण्डारी र लामाले सहयोग प्रदान गरेका छन् ।
नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन समेत रहेका लामा पूर्वमन्त्री भण्डारीको संयोजनमा खाद्यान्न वितरणको लागि आएका थिए । लामा आबद्ध न्यानोपन नेपालले २०० जना परिवारलाई सहयोग गर्ने क्रममा दुवैजनासँगसगै घरदैलोमा पुगेर सहयोग गरेका थिए । साथै उनीहरुलाई परेको समस्याको बारेमा समेत जानकारी लिएका थिए । एकबोरा चामल, नुन, तेल, मसला लगायतका भान्सामा प्रयोग हुने सामग्री लामाले प्रभावित परिवारलाई प्रत्यक्ष भेटेर सहयोग गरेका थिए । खाद्यान्न कार्यक्रममा केन्द्रीय सदस्य भण्डारीले गाउँलाई माया गरेर आफै आएर वितरण गरेकोमा क्याप्टेन लामालाई धन्यवाद दिएका थिए । । खाद्यान्न वितरण कार्यक्रमको अवसरमा क्याप्टेन लामाले जुनसुकै विपत्त परेको बेलामा पनि पीडामा मलम लगाउन एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्छ भनेर देशैभरी नै सहयोगको लागि अभियान सञ्चालन गरेको र यसैक्रममा तनहुँमा आएको बताए । हाम्रो देश विशाल छ राम्रो छ भनेर किताबमा पढेको अहिले गाउँगाउँमा पुग्न पाउँदा दुःख साट्न पाउँदा खुसी लागेकोे लामाले बताए । क्याप्टेन लामाले प्रभावित वासिन्दालाई धेरै नआत्तिन आग्रह गरेका थिए । ‘‘अत्यालिएर केही पनि हुँदै सम्हालेर बलियो हुनुपर्छ हामी तपाईको साथमा छौं’’क्याप्टेन लामाले भने । मानवीय सेवा नै इश्वरीय सेवा हो भन्ने कुरामा विश्वस्त भएको लामाको भनाई थियो । सबै पार्टी मिलेर दुःखमा परेकालाई सहयोग गरेर विपद्को सामना गर्नु पर्ने उनले बताए । एक छाक पनि पेटभरी खान नपाएको खबर सुनेर सहयोग गर्न आएको र भविश्यमा समेत सहयोग गर्ने प्रतिबद्धता उनले गरे ।