सत्ता पक्षीय गठबन्धनका नेताहरूबीच तत्कालै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त सहमति गरेको हो ।
गठबन्धनको आजको बैठकमा माधव नेपाल नगए पनि पनि उनीनिकट विजय पौडेल सहभागी भएका थिए ।
गठबन्धनका नेताहरूले यसबारेमा माधव नेपालसहितका नेताहरूसँग छलफल गर्ने भएका छन् । सरकार गठन भएको दुई साता पुगीसक्दा पनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन् । हाल एक राज्यमन्त्री तथा पाँच जना मन्त्री मात्र नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा रहेका नेताहरूले
मन्त्रीको नाम दिएपछि मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन् । मन्त्री छान्ने जिम्मा भने शीर्ष नेताहरूलाई दिइएको छ ।
आजको बैठकमा राजनीतिक नियुक्तिका सम्बन्धमा पनि छलफल भएको थियो । त्यसका लागि मापदण्ड बनाउने गठबन्धनको तयारी छ । सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा भएको बैठकमा बताए । त्यस्तै सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न कार्यदललाई निर्देशन दिइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत नेता सहभागी थिए । बैठकमा गठबन्धनमा रहेका दलका अरु नेताहरू पनि सहभागी थिए ।