बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नागढुंगा सुरुङमार्गका ३२ कामदारमा कोरोना संक्रमण
भर्खरै

नागढुंगा सुरुङमार्गका ३२ कामदारमा कोरोना संक्रमण

  • सिधा दृष्टी बुधबार, जेष्ठ १२, २०७८ | May 26, 2021

नागढुंगास्थित सुरुङमार्ग निर्माणस्थलभित्र रहेका ३२ जनामा कोभिड संक्रमण देखिएको छ । निर्माणस्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित भएकालाई अरुबाट छुट्टै (आइसोलेशन क्याम्प) मा राखेर अरु नियमित काम गरिरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, 'अस्पताल जानुभएका व्यक्ति पनि ठीक भइसक्नुभएको छ ।'

नेपालमा दोस्रो भेरियन्टसहितको संक्रमण सुरु भएसँगै जिल्ला प्रशासन

कार्यालयले काठमाडौं उपत्यकामा तीन साता पहिले निषेधाज्ञा लागू गरेको थियो । निषेधाज्ञामा पनि क्याम्पमा बसेर गर्न सकिने विकास निर्माणलाई निरन्तरता दिइने सरकारको निर्णयका आधारमा सो सुरुङमार्गको निर्माण सामान्य अवस्थामा जसरी नै पुनः सञ्चालन थियो । देशभर संक्रमण फैलिरहेकाले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर निर्माण अघि बढाउँदै आइएको आयोजनाले जनाएको छ । आयोजनाले क्याम्पभित्र कुनै व्यक्तिमा संक्रमण देखिइहालेमा तुरुन्त अरूबाट छुट्टाएर राखिने व्यवस्था मिलाएको छ । उनले भने, 'संक्रमित भएका व्यक्तिको स्वास्थ्यमा समस्या आइहालेमा अस्पताल लगिनेछ ।'

क्याम्पभित्र संक्रमित देखिएसँगै यहाँ कार्यरत कामदार निर्माणस्थल छाड्न थालेको आयोजनाले जनाएको छ । अघिल्लो सातासम्म ६०० भन्दा बढी कार्यरत रहेकामा अहिले यहाँ ३०० छन् । झण्डै आधा कामदार निर्माणस्थल छाडिसकेको प्रमुख शाक्यले बताए । तत्काल भएकै कामदारबाट निर्माणलाई निरन्तरता दिइने उनले  बताए ।

निर्माणस्थलमा संक्रमण नियन्त्रण गर्न सकियो भने यही रूपमा काम अघि बढाइने आयोजनाले जनाएको छ । अझै फैलिएर गयो भने निर्माणस्थल बन्द गरिने प्रमुख शाक्यले बताए । अहिलेसम्म निर्माणस्थलभित्र व्यवस्थापन गर्न सकिने अवस्था भएकाले काम भइरहेको उनले बताए । अबको केही समयसम्म कम संख्यामा कामदार राखेर काम गरिनेछ । यो समयमा ‘पर्ख र हेर’ गरेर त्यसपछि अवस्था हेरेर अघि बढिने उनले बताए । काम प्रगतिका नाममा स्वास्थ्य सुरक्षासँग चुनौती नगरिने उनको भनाइ छ । उनले भने, 'अझै धेरै संख्यामा संक्रमित हुँदा काम गर्न रोकिनेछ ।'

अहिले आयोजनाले कुनै पनि व्यक्तिलाई संक्रमणको शङ्का लाग्नासाथ कोभिड जाँच गराउने गरेको छ । सुपरिवेक्षण गर्नेलाई भित्रै बस्ने व्यवस्था मिलाइएको प्रमुख शाक्यले बताए । आवश्यक संख्यामा जनशक्ति भित्रै रहेकाले सचेत भएर काम गरिरहेको उनले बताए । कामदारको मनमा त्रास भएकै कारण आधाले काम छाडेर फर्किसकेका छन् ।

पछिल्लो अवस्थामा जतिसक्दो काम अघि बढाएर आठ/१० दिन पछि निर्माणस्थलको अवस्था हेरेर निर्णय गरिने उनले बताए  । उनका अनुसार निर्माणस्थलको स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिएको छ । उनले भने, 'अब कोभिड फैलन क्रम कम भएमा त्यसका आधारमा अघि बढिनेछ, संक्रमण अझै फैलिएमा काम रोक्नुपर्छ ।'

संक्रमणकै कारण अहिले आयोजनाको पूर्वतर्फ अवरोध पुगेको आयोजनाले जनाएको छ । सुरुङमार्गमा काम भने भइरहेको छ । मुख्य सुरुङमा अहिले पनि दुई चरणमा गरी चौबिसै घण्टा काम भइरहेको प्रमुख शाक्यले बताए । सहायक सुरुङमा दिनमा काम भए पनि रातको समयमा काम रोकिएको छ । पूर्वपट्टि पहुँच मार्ग बनाउने काम रोकिएको र पश्चिमतर्फ काम भइरहेको आयोजनाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय