झापाको गौरादह नपा–४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए । यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो
।
वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो ।
त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिए । बिहे कार्यमा असवाधानी हुँदा ताजपुरियाजनमा सङ्क्रमण भएको हुन सक्ने बताइएको छ । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।