दोश्रो चरणको कोरोना संक्रमण बढेपछि अक्सिजन ग्याँसको अभाव हुन नदिन उद्योगीहरूद्वारा भारतबाट वीरगञ्जको बाटो हुँदै ठूलो-सानो गरी ५ वटा बुलेट नेपाल भित्रिएको छ ।
काठमाण्डौंको शंकर ग्यास उद्योगले भारतबाट लिक्विड अक्सिजनको बुलेट नेपाल भित्र्याएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अक्सिजन ग्याँस उद्योगीले भारतको झारखण्ड प्रान्तको जमशेदपुरबाट ल्याएको हो ।
सो उद्योगले लिक्विड अक्सिजन ल्याएर अस्पताललाई दिने गर्छ । यो उद्योगसँग दुई वटा मात्रै लिक्विड अक्सिजन बोक्ने बुलेट छ । लिक्विड अक्सिजनको ट्यांकर उपत्यकामा ट्रमा सेन्टर र
टेकु अस्पतालमा मात्रै रहेको छ । बुलेटमा ल्याएको अक्सिजन ट्यांकमा खन्याउने गरिन्छ । वीरगञ्ज नाकाबाट जेष्ठ १ गते देखि लिक्विड अक्सिजनसहितको बुलेट आएको बताइएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत शैलेन्द्र अधिकारीका अनुसार रक्सौल–वीरगंज नाका भएर हालसम्म एउटा सानो र चार वटा ठूलो बुलेट नेपाल भित्रिएको छ । तीन लटमा आएको सो अक्सिजन ग्याँस पहिलो लटमा ११ हजार ५ सय ५० एमटिक्यू , दोश्रोमा ४ हजार ८ सय ७४ एमटिक्यू र तेश्रोमा १२ हजार ५ सय ७४ एमटिक्यू आएको बताईएको छ ।
एक घनमिटरको मूल्य भारु १६ रूपैयाँ दरमा अक्सिजन खरिद गरी नेपाल ल्याइएको अधिकारीले जानकारी दिए । कोरोना संक्रमण बढ्दै गएको र बिरामीलाई अक्सिजनको अभाव हुन थालेपछि संघिय सरकारले हाल अक्सिजन बुलेट आयातमा भन्सार शुल्क शून्य बनाएको छ ।
भारतबाट नेपाल भित्रिदा एउटा बुलेटमा प्रवेश शुल्क ५६५ रूपैयाँ लाग्ने गर्छ । नेपाल भारत दुबै देशका अधिकारीहरूले सहमति दिएपछि उद्योगीहरूले सो अक्सिजन ग्याँस बुलेट नेपालमा ल्याउने गरिएको वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन् । हाल नेपालमा कोरोनाको दोश्रो लहर फैलिएर बिरामीहरू अक्सिजनको अभावमा मर्न थालेपछि यसलाई रोक्न तथा अक्सिजनको अभाव नहोस् भनेर उद्योगीहरूले भारतबाट अक्सिजन ग्याँस ल्याउने गरेको छ ।
पर्सा जिल्लामा रहेका तीन वटा अक्सिजन उद्योगहरूले आफै ग्याँस प्लान्टबाट अक्सिजन उत्पादन गरी ग्याँस वितरण गर्दै आएका छन् । यी उद्योगले पनि भारतबाट तयारी लिक्वीड अक्सिजन ल्याएर सिलिन्डरमा भर्ने हो भने यस भेगमा अक्सिजनको अभाव नहुने बिज्ञहरू बताउछन् ।