सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।
विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उनको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले जानकारी दिए । दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।
त्यसपछि एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि
अस्पताल भर्ना गरी आईसीयूमा राखिएको थियो ।
तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।
मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
-रासस