धादिङमा कोरोना संक्रमणको रोकथाम तथा न्युनीकरण गर्नको लागि लागु गरीएको निषेधाज्ञा जारी छ । निषेधाज्ञाको समयमा व्यवसायीहरुले बजारमा मूल्य वृद्धि गरेको गुनासो आउन थालेपछि धादिङमा अनुगमन तिव्र पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग विकास कार्यालय लगायतको संयुक्त टोलीले धादिङबेसी बजार क्षेत्र र पृथ्वी राजमार्गका बजार क्षेत्रमा अनुगमन गरेका छन् । अनुगमन टोलीले खाद्यान्न, फलफुल, तरकारी थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो ।
धादिङको नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिकाको बजार र गजुरी गाऊँपालिकाको गजुरीबजार र ज्वालामुखी
गाउँपालिकाको सांधभज्याङ क्षेत्रका पसलहरुको अनुगमन गरीएको छ । कोरोना भाइरस संक्रमणको महामारीमा खाद्यवस्तुमा मिसावट, मूल्यवृद्धि, अखाद्य बस्तुको बेचविखच भएका कारण बजार अनुगमन गरीएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।
निशेधाज्ञाको समयमा व्यापारीहरुले खाद्यान्नका सामग्री चामल, दाल, तेल लगायतका खाद्य वस्तुलाई महंगो लिने गरेको उपभोक्ताले बताएका छन् । व्यापारीहरुले गोदाममा रहेका र निषेधाज्ञा अघि ल्याएका सामानहरुलाई पनि मुल्य बृद्धि भएर आएको भनेर चर्को मुल्यमा विक्रि गर्ने गरेका स्थानीयले गुनासो छ ।
नियमित आम्दानीको स्रोत नहुने र दैनिक ज्यालामजदुरी गरी आफ्नो हातमुख जोड्नु पर्ने वाध्यतामा रहेकाहरुलाई मुल्य बृद्धि हुँदा निकै अप्ठेरो परेको छ । अनगुमनको क्रममा मूल्यसूची कुनै पनि पसलमा नराखिएको, म्याद नाघेका अखाद्य बस्तु राखीएको, केहि पसलहरुले दर्ता पनि नगरेको पाईएको छ ।
टोलीले अनुगमन गरिएका फर्महरूमा तत्काल मूल्यसूची राख्न, साइनबोर्ड राख्न, बिल लिन दिन, म्याद गुज्रिएका सामग्री नराख्न, अनुमति नभएका सामग्री बिक्री नगर्न, इजाजत लिएर मात्र कारोबार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए ।