तातोपानी । चीनले नेपाललाई दिएका १८ हजार खाली अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुगेको छ ।
स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।
यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि
बाँकी १ हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।
यस्तै, आइतबारै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाइड बडी विमानले ल्याउँदै छ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो । शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली संघका सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो ।