बढी भाडा लिएको आरोपमा प्रहरीले वीरगञ्जबाट दुई जना एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पर्साको बहुदरमाई नगरपालिका–९ का ३५ वर्षीय कमरुद्दिन रायभर र विन्दवासिनी गाउँपालिका–१ बस्ने २२ वर्षीय विरबल मुखिया पक्राउ परेका हुन् । उनीहरुले चलाउने गरेको ना २ च. ३२५६ र ना ३ च ८१९९ नम्बरको दुईवटा एम्बुलेन्स पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सामा सञ्चालनमा रहेका कतिपय एम्बुलेन्स चालकहरूले कोभिड–१९ संक्रमणकोे विषम परिस्थितिको फाइदा उठाउने मनसायले संक्रमित व्यक्ति तथा संक्रमणबाट मृत्यु भएका व्यक्तिका आफन्तहरूबाट मनोमानी भाडा लिइरहेको गुनासो
प्रहरीमा आएको थियो । त्यसै सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ स्थित नेशनल मेडिकल कलेज बाहिरको सडकबाट उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।