शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ७३ जिल्लामा जारी भयो निषेधाज्ञा, अब चार जिल्ला बांँकी
भर्खरै

७३ जिल्लामा जारी भयो निषेधाज्ञा, अब चार जिल्ला बांँकी

  • सिधा दृष्टी बुधबार, बैशाख २९, २०७८ | May 12, 2021

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।

यद्यपि संक्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । १६ वैशाखदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको

थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ ।

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर संक्रमणको जालो तोड्नुपर्ने सुझाव दिनुभएको छ । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि संक्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मनाङले भने १३ वैशाखको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ ।  खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।

रुकुम(पूर्व)ले पनि आज रातिदेखि लागू हुने गरी  आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम संक्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना  जारी गरेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् ।

मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक संक्रमित फेला पर्दै आएका छन् तथा मृतक  तीन अंक देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिन्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु  हुन थालेको छ ।

नेपालमा पछिले साताको विष्लेषण गर्दा संक्रमितको संख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिइन् ।

नेपालमा प्रति १० लाख ३०४ र  भारतमा  २४० मात्रै संक्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २.५ जनाको मृत्यु भएको तथ्यांक छ ।  पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर  छ । प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय संक्रमितको संख्या एक लाख नाघिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय