विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।
केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन ।
कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।
भारतीय
सञ्चारमाध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ ।
यसैबीच, कोभिड–१९ को महामारीका कारण २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको त्यहाँको मन्त्रालयले जनाएको छ ।
भारतमा हाल ३७ लाख ४ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा करिब ११ हजारले कमी हो । हालसम्म एक करोड ९३ लाख ८२ हजार व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन् ।
कोरोना भाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् ।
कोरोनाको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा यही मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।
विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् ।
कोरोनासंक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ । त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ ।
युरोप र उत्तर अमेरिकामा कोभिड-१९ विरुद्धको खोप अभियान तिब्र पारिएसँगै कोरोनाभाइरसको संक्रमण र मृत्युदर दुवैमा कमी आएको सिन्ह्वाले जनाएको छ ।