डडेल्धुराको आलिताल गाउँपालिकाले दीर्घरोगीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि डडेल्धुरामा पनि निषेधाज्ञा जारी गरिएको छ भने निषेधाज्ञाका कारण समस्त स्थानीय नागरिक घरभित्र बस्न बाध्य भएका छन् ।
यस्तो अवस्थामा दीर्घरोगीका लागि आवश्यक पर्ने औषधि उपलब्धतामा समस्या निम्तिएको हुन सक्ने भन्दै आलिताल गाउँपालिकाले दिर्घरोगीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउने निर्णय गरिएको आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङको पहलमा दीर्घरोगीका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्रहरूमार्फत निःशुल्क औषधि उपलब्ध गराउने जानकारी
उनले सामाजिक सञ्जालमार्फत गाउँपालिकाअन्तर्गतका नागरिकलाई दिएका हुन् ।
गाउँपालिकाका दीर्घरोगीहरूका समस्यालाई मध्यनजर गर्दै हाल जारी निषेधाज्ञाका कारण औषधि ल्याउन समस्या रहेको अवस्था देखिएपछि अध्यक्ष गुरुङले सम्पुर्ण गाउँपालिकावासीसँग सम्बन्धित आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरी सम्पुर्ण दीर्घरोगी नागरिकहरूले डाक्टरको प्रिस्केप्सनसहित पाँच दिनभित्र विवरण बुझाउन आग्रह समेत गरेका छन् ।