बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका विवाहको भोजमा सहभागी २५ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमित भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना संक्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पिसिआर परीक्षण गरेको थियो ।
बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यति धेरै जनामा संक्रमण देखिनु स्थानीयवासीको हेलचक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी
दिए।
गाउँपालिकामा संक्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर संक्रमण फैलिएपछि रोकथामका लागि आफूहरू लागि रहेको उनको भनाइ छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविकरूपमा संक्रमणको दर बढेको कँडेल बताँछन् ।
जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरु गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेशन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।
विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाहलगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए ।
'अहिले सङ्क्रमित भएकाहरू अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरूसँग सम्पर्कमा रहेका छन्', उनले भने 'पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधि भएको र त्यहीँबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नुभएको छ तर अवस्था सबैको सामान्य छ ।'
गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरिएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य भएकाले होम आइसोलेशनमै राखिएको अध्यक्ष मगरको भनाइ छ । गाउँमा संक्रमण बढ्दै गएपछि स्थानीयवासीमा त्रास छाएको छ ।