ब्राजिलको रियो दी जेनेरोमा बिहीबार प्रहरी र लागूपदार्थका शंकास्पद तस्करबीच गोली हानाहान हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान गएको छ । मृत्यु हुने अन्यहरुमा आपराधिक समूहका सदस्यहरु रहेको प्रहरीको भनाइ छ ।
उक्त गोली हानाहानको घटना स्थानीय समय अनुसार बिहीबार बिहानै भएको थियो । प्रहरीले रियो दी जेनेरोको जाकारेजिन्हो नामको झुपडबस्तीमा लागूऔषधका तस्करहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा भिषण कारबाही
गरेको थियो । यस क्रममा ठूलो संख्यामा प्रहरीहरु आधुनिक हतियार सहित उक्त बस्तीमा पुगेका थिए ।
सामाजिक सञ्जालमा पोष्ट गरिएका दृश्यहरुमा झुपडबस्तीका धेरै ठाउँमा ग्यास बम बिस्फोट गरिएको र गोली चलेको आवाज सुनिएको सिन्ह्वाले जनाएको छ । हेलिकप्टरबाट लिइएका तस्बिरहरुमा सशस्त्र तस्करहरु घरका छानाबाट भाग्दै गरेका देखिएको समाचारमा जनाइएको छ ।
जाकारेजिन्हो झुपडबस्तीलाई रेड कमान्ड नाम गरेको आपराधिक समूहले आफ्नो अखडा बनाउँदै आएको थियो । रियो दी जेनेरोका अन्य झुपडबस्तीहरु पहाडी इलाकाहरुमा रहे पनि जाकारिन्हो बस्ती भने समथल ठाउँमा छ ।