शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु, क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड
भर्खरै

भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु, क्यान्सर अस्पतालले शुरु गर्‍यो कोभिड वार्ड

  • सिधा दृष्टी मङ्लबार, बैशाख २१, २०७८ | May 4, 2021

चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने

३८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । छातीमा समस्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

यसैबीच विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चालनमा ल्याइएको छ । क्यान्सरको उपचार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या तयार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पुर्‍याउन सकिने छ । देशैभरिबाट क्यान्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उनले बताए । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर परीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्रमण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यवस्था गरिएको बताए ।

हाल सो अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्रमण देखिएको छ । उनीहरु अधिकांश होमआइसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्रमितको उपचार हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय