पाँचथरको सदरमुकाम फिदिमबाट करिव ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका-१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस-१ नाम्रेक आएका थिए ।
याङवरक गाउँपालिका-१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट
आ-आफ्नो बाटो लाग्न थाले । यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड-१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो ।
‘उहाँहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड-१९ को रिपोर्ट पोजेटिभ देखियो’, वडाध्यक्ष ढुङ्गेलले भनेका छन्, ‘पाहुना आएकाहरुमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ, हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।’
यहाँका सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेललाई उद्धृत गर्दै राससले जनाएको छ । गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निर्क्योल गरिने वडाध्यक्ष ढुङ्गेलको भनाइ छ । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको उल्लेख गर्दै उनले पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताएकाले अस्पताल लैजाने तयारी गरिएको जानकारी दिए ।
यस्तै, सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिएका छन् । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । मंगलबार बिहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताएका छन् ।