डडेल्धुरामा आज (१९ वैशाख) देखि निषेधाज्ञा जारी गरिएको छ । विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोे हो ।
वैशाख १९ गते आइतबार बिहान ६ बजे देखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । अत्यावश्यक
सवारी साधनहरू एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने छन् ।
खाद्य सामग्रीका पसलहरू बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ । निषेधाज्ञा लागेपछि अति आवश्यक कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन । यस्तै निषेधाज्ञाको अवधिभर औषधिपसल, खाद्य पसल तथा समाग्रीबाहेक अन्य पसल सबै बन्द रहने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
सबै प्रकारका सभा–सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहने छन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।
यस्तै नेपाल सरकारका कर्मचारी, बैंक वित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन् । पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने जनाइएको छ ।
निषेधाज्ञा जारी गरेसँगै सरकारी कार्यालयसमेत आकस्मिक बाहेका सबै सेवा बन्द गर्ने सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आर्यलले बताए । जिल्लाका सबै स्थानीय तहले आकस्मिक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएका छन । विद्यालयहरू यसअघि नै बन्द गरिएका छन् ।