कोरोना संक्रमण न्यूनीकरण र बढी भीडभाड हुन नदिने उद्देश्यले सप्तरीमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भएको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवाबाहेकका बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकल लगायतका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको हो । वैशाख १९ गते बिजोर नम्बरका सवारी साधन चल्ने त्यसपछि जोर गते, जोर नम्बर बिजोर गते बिजोर
नम्बरका सवारी साधन संचालन हुने भएको हो ।
बैठकले पछिल्लो समय अत्यधिक भीडभाड हुने नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालयलगायतका सेवाप्रवाह हुने कार्यालयमा भीडभाड नहुने व्यवस्थापन मिलाउने, खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री गर्ने खाद्यान्न, तरकारी, लताकपडा बिक्री वितरणमा रोक लगाउने निर्णय भएको छ ।
राजविराजबाट भारतसित जोडिएको सप्तरीको मुख्यनाका कुनौली र छिन्नमस्ता भगवती मन्दिर जान अत्यावश्यक सेवाबाहेकका सवारी साधनलाई रोक लगाउने, ३ दिनभित्र गजेन्द्रनारायण सिंह अस्पतालमा आइसोलेसन केन्द्र संचालनमा ल्याउने, आइसोलेसनको सुरक्षा नेपाली सेनाले गर्ने निर्णय भएको छ ।