पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले परासी बजारको अनुगमन गरेको छ । रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुँवरको संयोजकत्वमा पालिकामा गठित उपभोक्ता हकहित संरक्षण समितिको सिफारिसमा नगरपालिकाको अनुगमन समितिले बजारको दर्जनभन्दा बढी किराना पसलको अनुगमन गरेको हो ।
कोभिड–१९ को बढ्दो माहामारीको अवसर छोपी व्यापारीले विभिन्न सरसमानको आफूखुशी मूल्यवृद्धि गर्नुका साथै कालोबजारी तथा म्याद गुज्रेको सरसामान बेच्न सक्ने सम्भावना देखिएपछि नगरपालिकाको अनुगमन समितिले बजार अनुगमन गरेको हो ।
अनुगमन समितिले शुक्रबार किरानाका पसलहरुमा मात्र छड्के अनुगमन गरेको थियो भने आगामी दिनमा
अनुगमन कार्यलाई थप निरन्तता दिँदै फरक–फरक प्रकृतिका पसल तथा व्यवसायहरुको पनि अनुगमन गरिने अनुगमन समितिका संयोजक कुावरले जानकारी दिनुभयो ।
अनुगमनमा पसल तथा व्यवसायको दर्ता र नवीकरण, वस्तुहरुको म्याद, मूल्यसुची, खरिदबिक्रीको बिलबिजक र कर तिरेनतिरको विषयलाई केन्द्रित गरी अनुगमन गरिएको नगरपालिका उपप्रमुख कुँवरले जानकारी दिनुभयो । अनुगमन समितिका संयोजक कुँवरले अखाद्य बस्तु विक्री गरी उपभोक्ताको स्वास्थ्यसँग खेलवाड नगर्न र माहामारीको अवसर छोपी सरसमानाको कालोबजारी नगर्न पसल व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
बजार अनुगमनमा नगर उपप्रमुख एवं अनुगमन समितिका संयोजक कुँवर, रामग्राम नगरपालिका आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेल, पशु शाखा प्रतिनिधि गोविन्द पौडेल, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि अशोक श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे, घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधि मनोजकुमार चौधरी, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, उपभोक्ता हकहित संरक्षण मंचका केन्द्रिय सदस्य रामजी ज्ञवाली, मञ्चका नगरअध्यक्ष यमकुमारी सुवेदी र जिल्ला प्रहरी तथा नगर प्रहरीको टोली रहेको आर्थिक विकास शाखा प्रमुख निर्मला पोख्रेलले बताउनुभयो ।
अनुगमनमा समितिले विभिन्न पसलहरुबाट म्याद गुज्रेको बिस्कुट, मसला, फेन्टा, माज्जा, ब्रेड र जन्कफुडका आइटमहरु बरामद गरी नष्ट गरेको छ । त्यस्तै, अनुगमनमा दर्ता नभएको पसलहरुलाई दर्ता गराउन, नवीकरण नभएकालाई नवीकरण गराउन, मूल्यसूची तोक्न, अखाद्य बस्तु विक्री वितरण नगर्न, बिलबिजक सुरिक्षत गर्न र सामाजिक दूरी समेत कायम गराइ मालबस्तु बिक्री वितरण गर्न समितिले आग्रह गरेको छ ।