मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • धार्मिक समारोहमा भागदौड मच्चिँदा उत्तरी इजरायलमा ४४ जनाको मृत्यु
समाचार

धार्मिक समारोहमा भागदौड मच्चिँदा उत्तरी इजरायलमा ४४ जनाको मृत्यु

  • सिधा दृष्टी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

इजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिँदा कम्तीमा ४४ जनाको ज्यान गएको छ । यहुदीहरुको नयाँ वर्ष मनाउन कम्तीमा एक लाख मानिस भेला भएका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यहुदी नयाँ वर्ष “लाग बाओमर”को पूर्व सन्ध्यामा हरेक वर्ष उत्तरी इजरायलको माउन्ट मेरोनमा ठूलो संख्यामा मानिस भेला हुने प्रचलन छ ।

इजरायली सञ्चारमाध्यमको अनुमान अनुसार, करिब एक लाख मानिस उक्त समारोहमा सहभागी थिए जसमा अति दक्षिणपन्थी यहुदीको सहभागिता बढी थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्वीट गर्दै

माउन्ट मेरोनमा निकै दुःखद घटना भएको छ, र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु भनेका छन् । उनले माउन्ट मेरोनमा उद्धार कार्यलाई तीव्र बनाउन आदेश दिइसकेको पनि जनाएका छन् ।

इजरायली राष्ट्रपति रुभेन रिभलिनले पनि ट्वीट गर्दै घाइतेको उद्धार कार्यलाई तिब्र बनाउन आग्रह गरेका छन् ।

शुरुमा उक्त दुःखद घटना मञ्च भत्किएर भएको अनुमान गरिए पनि इजरायली एम्बुलेन्स सेवा मागेन डेभिड एडोम (एमडिए)ले भिडका कारण उक्त दुर्घटना भएको बताएको छ । एमडिएले घाइतेहरुलाई उद्धार गरिएको र केहीलाई हेलिकप्टरबाट बाहिर निकालिएको जनाएको छ ।

घाइतेहरुलाई उत्तरी इजरायल र जेरुसलेममा भर्ना गरिएको छ । युनाइटेड हजलाह आपतकालीन स्वास्थ्य सेवाले आफ्ना संस्थाका स्वयंसेवीले घटनास्थलबाट दर्जनौँ व्यक्तिलाई उद्धार गरेको दाबी गरेको सिन्ह्वाले जनाएको छ ।

सरकारले कोभिड-१९ को संक्रमण फैलन सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ । कोरोनाभाइरस फैलन नपाओस् भन्नका लागि खोप लगाएका, कोभिबाट संक्रमणमुक्त भएका वा परीक्षणमा संक्रमण नदेखिएका व्यक्तिलाई मात्र माउन्ट मेरोनको भ्रमण गर्न त्यहाँको सरकारले अनुमति दिएको थियो । तर सरकारले अनुमति दिएको भन्दा धेरै व्यक्ति उक्त समारोहमा सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय