कोरोना भाइरसको महामारी नेपालको सन्दर्भमा फेरि एकपटक चर्चा र त्रासको विषय बन्न पुगेको छ । विश्वलाई नै आक्रान्त परिरहेको यस महामारीको चपेटबाट कैयन मुलुक मुक्त हुन सकेकै थिएनन्, बन्दाबन्दी, निषेधाज्ञा र महामारी रोकथाम तथा नियन्त्रणका यस्तै अनेक कडा उपाय अवलम्बन प्रक्रियालाई विभिन्न मुलुकले निरन्तरता दिइरहेकै थिए । भाइरसविरुद्धका विभिन्न खोपसमेत प्रयोगमा आइसके पनि कोरोनाको खतर्नाक प्रकृतिलाई मनन गर्दै सचेतना अपनाउन र अनुशासित जीवनशैली अवलम्बन गर्न छोडिएन । तर, यस वैश्विक माहोलबीच पनि नेपाल यस्ता नागरिकले बसोबास गर्ने थलोको रूपमा देखिन
पुग्यो, जहाँका बासिन्दा मानौँ कि ‘कोरोना भाइरसको महामारी पनि थियो र ? छ र ?’ भन्ने भावका साथ निर्धक्क बाँचिरहेका छन् ! तुलनात्मक रूपमा क्षति न्युन भएर होला, आम तवरमा नेपालीजनको भाव यस्तो देखियो कि कोरोना भाइरससँग त्यो क्षमता छैन जसले नेपालवासीलाई खास क्षति पुऱ्याउन सकोस् !
यस्तै सोचका कारण विश्व जगतलाई नै त्राहीमाम तुल्याइरहेको कोरोना भाइरसप्रति नेपाली जनमानस लापर्वाह बन्न पुग्यो । भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने, साबुन-पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता विधि त प्रकारान्तरले ‘एकादेशको कथा’ नै हुन पुग्यो, हुँदा-हुँदा मास्क पहिरिने जस्तो महत्वपूर्ण र सहज-सरल कार्यलाई समेत लत्याइयो, लत्याइरहेको महसूस गरियो । जीवन-व्यवहारलाई पूर्ववत् रूपमा सामान्य तुल्याउने कोणबाट हेरिँदा कोरोनाजस्तो अपरिचत एवम् अदृश्य खतर्नाक महारोगलाई परास्त गर्न यो ‘आत्मविश्वास’ आवश्यक नै थियो भन्न पनि सकिएला, तर सुझबुझका साथ सावधानी अपनाउनु र घोर अज्ञानताको अँध्यारोमा भासिएर व्यवहार गर्नु नितान्त विपरीत कुरा हो । र, यस्तै अज्ञानता तमाम नेपालीबाट ‘मुर्खता’कै हदमा उत्रिएर हुन पुगेको जगजाहेर छ ।
परिणामतः, आज कोरोना भाइरसले नयाँ-नयाँ चोला बदल्दै महामारीको दोस्रो-तेस्रो लहर पैदा गर्दैगर्दा तुलनात्मक रूपले केही ज्यादा आत्तिनुपर्ने बिन्दुमा नेपाल आइपुगेको छ । कोरोना महामारीले संसारका धेरै देशलाई धेरै कुरा बुझायो, तिनले पाठ सिके र कोरोनासँगै दैनन्दिनी अघि बढाउने यथासम्भव प्रयत्न सावधानीका साथ गरे, गरिरहेछन् र पनि अनेक हण्डर खेपिरहेछन् । यस्तोमा कोभिड महामारीसँग प्राविधिक रूपले जुझ्ने सामर्थ्य शुन्यबराबर रहेको नेपालमा भाइरसको नयाँ अवतार तथा महामारीको अर्को चरण ह्वात्तै प्रवेश गरिदिँदा यहाँको हालत के होला ? सोचनीय र अकल्पनीय छ !
हाम्रो सरकारको हालत र हैसियत छर्लङ्ग बुझ्दाबुझ्दै पनि नागरिक तहबाट सरकारप्रति धारे हात लगाउने उपक्रम जारी नै छ । अन्य मुद्दाका सन्दर्भ आफ्नै ठाउँमा छ, महामारी व्यवस्थापनको सवाललाई लिएर फेरि पनि सरकारको आलोचना र विरोध शुरु भएको छ । यस सन्दर्भमा सरकार अक्षम वा लापर्वाह नै देखियो भन्ने मान्दा पनि, के नागरिक स्वयमबाट चाहिँ कोरोना महामारीको नियन्त्रण वा रोकथामका लागि आवश्यक भूमिका निर्वाह गरियो त ? यो प्रश्न अस्वाभाविक लाग्न सक्छ तर कटु सत्य स्वीकार गर्नैपर्छ कि हरेक कुरामा फगत सरकारको मुख ताक्ने रोगले गाँजेको कारण नेपालीजनले आफ्नो कर्तव्य पूरै भुलिसकेका छन् । देश राम्रो तुल्याउन नेता असल छान्नुपर्छ, असल नेतृत्वले सही नीति-योजना तर्जुमा गर्छ र अनुशासित जनताको साथ लिँदै देशलाई विकास-निर्माण र समृद्धिको मार्गमा अघि बढाउँछ । यो चक्र सही रूपले चलाउन मूल भूमिका वा दायित्व नागरिककै हुन्छ । यो अहम् विषय हो तर यस्तो महत्वपूर्ण मामलामा पनि नेपाली जनता चुक्दै आएका छन् । नागरिक-कर्तव्यप्रति पटक्कै चेत नराख्ने प्रवृत्तिले नेपालीको सामर्थ्य र स्वाभिमानमै क्षयीकरण गरेको छ र, यो क्रम जारी छ ।
सन्दर्भ कोरोना महामारीको दोस्रो लहर र यसले पुऱ्याउन सक्ने सम्भावित क्षतिप्रति समयमै संवेदनशील हुँदै रोकथामको उपाय अपनाउने विषयसँग सम्बन्धित छ । काम बिग्रिसकेपछि पछुताउनुभन्दा बिग्रन नदिनेतर्फ यथोचित समयमा उपयुक्त कदम चाल्नु नै बुद्धिमत्तापूर्ण र सर्वकल्याणकारी हुन्छ भन्ने पाठ सायद अब कसैलाई पढाइरहनु नपर्ला । सरकारले गर्नुपर्ने काम गर्दै गर्ला, बाङ्गोटिङ्गोे चाल चल्न खोज्दा खबरदारी गर्ने कर्तव्य आफ्नै ठाउँमा छ, तर नागरिक स्वयम्को दायित्व सरकारको भन्दा कम नरहेको मनन गर्नैपर्छ । सरकारको मुख मात्र नताकौँ, अनुशासित बनौँ, व्यवहारपरक मापदण्डहरूको गम्भीरतापूर्वक मनन र अवलम्बन गरौँ, सचेत बनौँ-सचेतना जगाऔँ, कोरोना महामारीलाई परास्त गरी नेपाली हुनुको शान, मान र गौरव उँचो तुल्याऔँ ।