स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई बहिरङ्ग सेवा बन्द गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सबै अस्पताललाई पत्र लेख्दै कोभिड-१९ को दोस्रो लहर बढेकाले कोभिड संक्रमणविरुद्ध उपचारको व्यवस्थापन गर्नका लागि हाललाई बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवालाई स्थगित गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ती सेवा बन्द गरे पनि आकस्मिक सेवा भने सञ्चालन नै रहने जानकारी दिएका छन् ।
ज्ञातव्य छ, मंगलबार एकै दिन ४,५२४ जना कोरोना सङ्क्रमित भएको र १८ जनाको निधन भएको छ
।
कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो समय बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर हुन पत्राचार गर्नसमेत निर्देशन दिएको उनले बताए ।
कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको आलोपालो निर्धारण गरी सेवा व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको छ । यस्तै मन्त्रालयले अस्पतालको स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्ने र रिक्त दरबन्दी भए ६ महिना करारमा लिनसमेत भनिएको छ । मन्त्रालयले सघन उपचार कक्ष (आइसियु) तथा आकस्मिक उपचारसम्बन्धी औजार र अक्सिजनको व्यवस्थापन गर्नसमेत सबै अस्पताललाई निर्देशन दिएको छ ।