कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँमा दुई सय र शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ ।
आइतबार बसेको सीसीएमसीको बैठकले गाउँमा कोरोनाका संक्रमित दुई सय र शहरी क्षेत्रमा पाँच सय नाघे निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको हो । यस्तै, बैठकले संक्रमित बढ्दै गए सम्बन्धित जिल्ला प्रशासन कार्यायललाई नै लकडाउनबारे निर्णय गर्न अधिकार दिन पनि सिफारिस गरेको छ ।
बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न र पाँच
सयभन्दा बढी संक्रमित रहेको ठाउँमा निषेधाज्ञा जारी गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
बैठकले भारतीय नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । छिमेकी देश भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपनि सरकारले नाकामा कडाइ गरेको छैन । सरकारले भारतमा कोरोना संक्रमण बढेपनि नाका बन्द नगरेको भन्दै चर्को आलोचना हुँदै आएको छ । सीमानाकाबाट नेपाली नागरिकलाई भने आउन रोक लगाइएको छैन ।
नेपाली नागरिकलाई स्वदेश आउन दिइने तर, १४ दिन क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गरेपछि मात्रै घर जान दिइने छ ।