सत्तारुढ दल नेकपा (एमाले)को प्रधानमन्त्री निवासमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको लाइनविपरीत गतिविधि सञ्चालन गर्दै आएको नेपाल समूहका सांसदहरुलाई कारवाही गर्ने सम्बन्धमा आज कुनै निर्णय नलिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।
पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका नेपाल समूहका सांसदहरुलाई कस्तो कारवाही गर्ने भन्ने बारे आजको बैठकले निर्णय लिने अनुमान गरिए पनि तत्काल कुनै कारवाही नगर्ने बरु सुक्ष रुपले तिनका गतिविधि नियालेर पछि निर्णय लिने निचोडमा बैठक पुगेको बताइएको छ ।
बुझिएअनुसार बैठकमा उक्त समूहका सांसदलाई
कारबाही गर्नेबारे छलफल भने भएको थियो । तर तत्काल कारबाहीमा उत्रनुभन्दा ‘भावी गतिविधि हेरेर उपयुक्त समयमा जे गर्नुपर्छ गर्ने’ भन्नेमा बैठकका सहभागी अधिकांशको सहमति भएको थियो ।
नेपाल समूहले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने र यससम्बन्धी निर्णय गर्ने जिम्मेवारी पार्टीको स्थायी कमिटीलाई दिइएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।
बताइएअनुसार बैठकले कोरोनाविरुद्धको लडाइँमा एमाले पार्टीपंक्तिलाई सक्रिय बनाउने निर्णय पनि लिएको छ ।