समुदायस्तरमै तीब्र रुपमा कोरोना संक्रमण फैलिन थालेपछि बाँकेको कोहलपुरमा आइतबारदेखि एक साताका लागि ‘लकडाउन’ गरिने भएको छ । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कोहलपुरमा ‘लकडाउन’ गरिने भएको हो ।
कोहलपुर नगरपालिकाको शनिबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि कोहलपुर नगर क्षेत्रमा आइतबार राति १२ बजेदेखि एक साताका लागि ‘लकडाउन’ गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई अनुरोध गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले जानकारी दिए ।
कोहलपुर नगरभित्र शनिबार
बिहानसम्म कोरोनाका २६१ जना सक्रिय संक्रमित रहेको जानकारी दिदै उनले कोरोना संक्रमणको जोखिमलाई रोकथाम तथा न्यूनीकरण गर्न तत्कालका लागि लकडाउन नै उत्तम विकल्प देखिएकाले ‘लकडाउन’ गर्नका लागि सीडीओ समक्ष अनुरोध गरिएको बताए ।
कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । यसअघि नेपालगञ्जमा एक हप्ताका लागि लकडाउन लागू गरिएको थियो ।
तर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने कोहलपुरको लकडाउनको बारेमा जानकारी नभएको बताए । ‘लकडाउन हुने–नहुने बारे मलाई जानकारी आएको छैन । नगरपालिका आफैले गरेको हो, भने मलाई यस विषयमा जानकारी छैन’, उनले भने ।
फेसबुकको वाल र विभिन्न मिडियामार्फत् कोहलपुरमा लकडाउन भएको समाचार सार्वजनिक भएपनि प्रमुख जिल्ला अधिकारीलाई भने यस विषयमा थाहा नभएको उनको तर्क छ ।